ललितपुर । राष्ट्रिय फुटबल टिमका खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको गुनासो गरेका छन् ।
ललितपुरको एन्फा टेक्निकल सेन्टरमा पुगेका खेलकुद मन्त्री जगत विश्वकर्मासंग राष्ट्रिय फुटबल खेलाडीले सरकारले प्रोत्साहन स्वरुप घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताए ।
एसियन र साफ गेम्सको तयारीमा रहेका फुटबल खेलाडीले पुरस्कार रकम तत्काल उपलब्ध गराउन पहल गरिदिन मन्त्री विश्वकर्मासंग आग्रह समेत गरेका छन् ।
राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले भने, ‘प्रमाणपत्रमा पाँच लेखियो तर अहिलेसम्म दुई लाख मात्र पाएका छौ । बाँकी रकमकालागि पहल गरिदिनुहोला ।’
नेपालको राष्ट्रिय फुटबल टिमले बंगबन्धु, सोलिडारिटी कप र साग फुटबलमा स्वर्ण जित्दा सरकारले पुरस्कार रकमको घोषणा गरेको थियो ।
बंगबन्धु र सोलिडारिटी कपको पुरस्कार रकम पाएपनि साग फुटबलको ३ लाख रुपैयाँ खेलाडीले अझै पाउन बाँकी छ ।
कप्तान महर्जनले पुरस्कार रकम नपाउदाँ खेलाडीको मनोबल गिर्ने भन्दै मागको सम्बोधन गरिदिन मन्त्रीसमक्ष आग्रह गरेका थिए ।
मन्त्री विश्वकर्माले फुटबल खेलाडीले पाउने रकमको बिषयमा आफुलाई जानकारी नभएको बताउदै आवश्यक छलफल गरेर रकम तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
‘यो बिषयमा मलाई कुनै जानकारी छैन । छलफल गरेर रकम तत्काल उपलब्ध गराउन पहल गर्छु । खेलाडीको सेवा सुविधामा वर्तमान सरकारले कुनै कन्जुस्याई गर्ने छैन् ।’ उनले भने ।