काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड उस्मान डेम्बेले ह्यामस्ट्रिङ चोटबाट निको भएका छन्। योसँगै उनी च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आर्सनलविरुद्धको खेलका लागि टोलीमा फर्किएका छन्।
मुख्य प्रशिक्षक लुइस एनरिकेका अनुसार डेम्बेलेले पछिल्ला दुई दिनदेखि टोलीसँग नियमित प्रशिक्षण गरिरहेका छन्। उनले भने, ‘उनी खेल पूर्ण रूपमा उपलब्ध छन्।’
पहिलो लेगमा निर्णायक गोल गरेका डेम्बेले उक्त खेलमै चोटिल भएका थिए। त्यसपछि लिग १ अन्तर्गत स्ट्रासबर्गसँगको खेलमा विश्राम दिइएको थियो। उक्त खेलमा पिएसजी २–१ ले पराजित भएको थियो। उक्त खेलमा प्रशिक्षक एनरिकेले आर्सनलविरुद्धको दोस्रो लेगलाई ध्यानमा राख्दै टोलीमा ठूलो परिर्वतन गरेका थिए।
डेम्बेलेले सन् २०२५ को सुरुआतदेखि च्याम्पियन्स लिगमा नौ खेलमा आठ गोल गरिसकेका छन्। डिफेन्डर आच्रफ हाकिमीका अनुसार डेम्बेले अब पूर्ण रूपमा फिट छन्। ‘उनी खेल्न निकै उत्साहित छन्। उस्मान फरक प्रकारका खेलाडी हुन्। उनको खेल हेर्न मैदानमै जान मन लाग्छ। उनले कहिल्यै पनि खेलको दिशा परिवर्तन गरिदिन सक्छन्। बलमा जादू देखाउँछन्। हामी उनी फर्किएकोमा धेरै खुसी छौं,’उनले भने।
युएएफएका तथ्यांक अनुसार पहिलो लेगमा जित निकाल्दा पिएसजीले १९ मध्ये १८ वटा टाई जितेको छ। अर्कोतर्फ, युरोपेली प्रतियोगितामा आर्सनलले पहिलो लेगमा घरेलु मैदानमा पराजित भएपछि कहिल्यै पनि टाई उल्ट्याउन सकेको छैन। सबै पाँचपटक आर्सनल असफल भएको छ। तर, एनरिके इतिहासमा निर्भर नरहने बताउँछन्।
‘हामीले पक्कै पनि केही कष्ट भोग्नुपर्छ, किनकि हाम्रो विपक्षी टोली नतिजाका हिसाबले कमजोर स्थितिमा छ,’ एनरिकेले पत्रकार सम्मेलनमा भने, ‘हामीले पहिलो लेगमा जस्तो प्रदर्शन गर्नुपर्छ र आफ्नो खेलशैलीमा विश्वास राख्नुपर्छ।’
दुवै टोली आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधिका लागि संघर्षरत छन्। पिएसजी गत वर्ष सेमिफाइनलमै बोरुसिया डर्टमुन्डसँग पराजित भएको थियो। सन् २०२० मा फाइनलमा बायर्न म्युनिखसँग हार बेहोरेको थियो। आर्सनल सन् २००६ मा बार्सिलोनासँग फाइनलमा पराजित भएको थियो।