काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)बाट बाहिरिसकेको चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।
बुधबार सम्पन्न खेलमा चेन्नई दुई विकेटले विजयी भएको हो। जितसँगै पुछारको चेन्नईले १२ खेलबाट ६ अंक पुर्यायो। कोलकाताको भने समान खेलबाट ११ अंक छ। कोलकाता पनि प्रतियोगिताबाट लगभग बाहिरिएको छ।
कोलकाताले दिएको १८० रनको लक्ष्य पछ्याएको चेन्नईले दुई बल बाँकी रहँदा आठ विकेट गुमाएर १८३ रन बनायो।
कप्तान महेन्द्रसिंह धोनी १७ रन बनाएर अविजित रहे। २०औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै धोनीले जित सुनिश्चित गरे। त्यसपछि अंशुल कम्बोजले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए।
डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाए। उर्विल पटेलले ११ बलमा ३१ रन बनाए। वैभव अरोराले तीन विकेट लिए। हर्षित राना र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।
इडेन गार्डेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो। कप्तान अजिंक्य रहाणेले ४८ रन बनाए। आन्द्रे रसेलले ३८ रन र मनिष पाण्डेले अविजित ३६ रनको योगदान दिए। नूर अहमदले चार विकेट लिए।