काठमाडौं। सावित्रा भण्डारी ‘साम्बा’ को ह्याट्रिकसँगै डिभिजन १ फेमिनिनमा रेलिगेसनमा परिसकेको अभान्ट ग्वेन्ग्याम्प अन्तिम खेलमा जित हात पारेको छ।
स्टेड सेन्टर फर्मेसनमा बुधबार सम्पन्न खेलमा सेन्ट–एटिएन फेमिनिन्सलाई ग्वेन्ग्याम्पले ३–२ ले पराजित गरेको हो। ग्वेन्ग्याम्पकी साम्बाले तीन गोल गरिन्। सेन्ट–एटिएनका अमान्डाइन पियरे–लुइस र एडेल कोनेसनले समान एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ५४औं मिनेटमा लुइसको गोलमार्फत पाहुना टोलीले सुरुआती अग्रता लियो।
तर, त्यसको तीन मिनेटपछि नै साम्बाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काइन्। यद्यपि, ग्वेन्ग्याम्प सम्हालिन नपाउँदै ६१औं मिनेटमा कोनेसनले अर्को गोल थप्दै सेन्ट–एटिएनलाई पुन: २–१ को अग्रता दिलाइन्।
तर, साम्बाले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा अर्को गोल थप्दै टोलीलाई अर्को गोल थप्दै खेल २–२ को बराबरीमा ल्याइन्। अतिरिक्त समयको पाँचौं मिनेटमा उनले ह्याट्रिक पूरा गरिन्। योसँगै ग्वेन्ग्याम्प ३–२ ले विजयी भयो।
साम्बा २०८० माघमा साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब ग्वेन्ग्याम्पमा अनुबन्ध भएकी थिइन्। दुई सिजन खेल्दा उनको क्लब अघिल्लो संस्करण २२ खेलबाट १६ अंक जोड्दै १२ टिम सम्मिलित लिगमा १०औं स्थानमा रहेर रेलिगेसनबाट जोगिएको थियो।
यसपल्ट भने ग्वेन्ग्याम्प तीन खेलअगाबै रेलिगेसनमा परेको थियो। ग्वेन्ग्याम्पले २२ खेलबाट नौ अंकसहित पुछारमा रहेर लिग सक्कायो।
साम्बाले ग्वेन्ग्याम्पको जर्सीमा यस सिजन ६ गोल गरिन्। त्यसमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल पनि समावेश छ। तर, उनको उक्त गोलले क्लबलाई शीर्ष डिभिजनमा टिकाइ राख्न सकेन।