काठमाडौं। इन्टर मिलान फेरि एकपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। यद्यपि, रेफ्रीले अन्तिम ह्विसर फुकेपछि मात्रै त्यो महसुस गरे।
मंगलबार राति भएको रोमाञ्चक खेलमा अतिरिक्त समय, दुई अद्भुतपूर्ण पुनरागमन र १३ गोलपछि इन्टरले बार्सिलोनालाई ४–३ (समग्रमा ७–६) ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। खेल यति नाटकीय रह्यो कि इन्टर अन्तिम क्षणसम्म प्रतियोगिताबाट बाहिरिने अवस्थामा थियो।
तर, अतिरिक्त समयमा मैदान छिरेका डाभिडे फ्रात्तेसी इन्टरका लागि नायक बने। ९९औं मिनेटमा उनले गरेको गोलसँगै बार्सिलोनाका खेलाडी मैदानमा लम्पसार परे भने इन्टरका मैदान र बेन्चमा बसेका खेलाडी गोलको उत्सब मनाउन दौडिए।
‘मलाई थाहा छैन आज के भयो। म चाहीँ चिच्याएँ, आँखै अन्धकार भयो,’ फ्रात्तेसीले भने। गोल गर्नुअघि उनले सान सिरोको भीडलाई अझ ठूलो आवाज गर्न हौसाइ रहेका थिए। त्यसको केही क्षणमै उनले आफ्नो ‘सुपर-सब’को छवि पुनः प्रमाणित गरे।
‘मसँग असाधारण प्रतिभा छैन। तर, म कहिल्यै हार मान्दिन। जित्न सक्छौं भन्ने कुरामा म सधैं विश्वास गर्छु। स्कोर ३–३ हुँदा मैले मार्कस (थुराम) लाई हामी फाइनलमा जान्छौं भनेको थिएँ,’ उनले भने।
तीनपटकको युरोपियन च्याम्पियन इन्टरले गत वर्षको फाइनलमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको थियो। यसपटक इन्टरले मे ३१ मा म्युनिखमा हुने फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) वा आर्सनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो लेगमा पिएसजीले लन्डनमा आर्सनललाई १–० ले हराएको थियो। दोस्रो लेग बुधबार पेरिसमा हुनेछ।
इन्टरका मुख्य प्रशिक्षक सिमोने इन्जाघीले भने, ‘बार्सिलोना र बायर्न म्युनिखविरुद्धका दुई उत्कृष्ट प्रदर्शनले हामी विश्वका शीर्ष टोलीसँग प्रतिस्पर्धा गर्न सक्छौं भन्ने देखायो। तर, फाइनल सजिलो हुने छैन।’
खेलको पहिलो हाफमा इन्टरले २–० को सहज अग्रता लिएको थियो। लाउटारो मार्टिनेजको गोल गरे। उनले जिताएको पेनाल्टीमा हाकान चालहानोलु सही सदुपयोग गरे।
तर, बार्सिलोना अघिल्लो लेगमा पनि यस्तै परिस्थितिबाट फर्किएको थियो। दोस्रो हाफको ५४औं मिनेटमा एरिक गार्सियाले गोल गरे। त्यसको ६ मिनेटमै डानी ओल्मोको हेडर गोल गर्दै खेल बराबरीमा ल्याए।
८८औं मिनेटमा राफिन्हाले इन्टरका गोलकिपर सोमरको बचाउपछि आएको बलमा गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। तर, ३७ वर्षीय फ्रान्चेस्को अचेर्बीले इन्जुरी समयमा युरोपियन प्रतियोगितामा पहिलोपटक गोल गर्दै खेललाई अतिरिक्त समयसम्म लगे।
अन्ततः फ्रात्तेसीले मेहदी तारेमीको पासलाई नियन्त्रण गर्दै इन्टरका लागि निर्णायक गोल गरे। उनले पाउ कुबार्सीलाई बिट गर्दै बललाई वोज्शेख शेस्नीको गोलपोस्ट पार गराए।
अन्त्यतिर लमिन यमलको प्रयास पनि बराबरी गोल जस्तै लाग्थ्यो। तर, सोमरले आफ्नो औंलाको टुप्पोले बललाई पोस्टको बाहिर पठाउँदै इन्टरको जित सुनिश्चित गरे।
‘सबै निराश छन्। तर, म आफ्नो टिमको प्रदर्शनप्रति गर्व गर्छु। हामी यो हार स्वीकार्छौं र अर्को सिजन नयाँ ऊर्जा र लक्ष्यसहित सुरु गर्नेछौं,’ बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले खेलपछि भने।