काठमाडौं । नेपाली यू–१९ टिमका कप्तान तथा गोलकिपर अर्पण कार्कीले भुटानको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् ।
नेपाली यू–२३ टिमका मुख्य गोलकिपर समेत रहेका अर्पणले पारो फुटबल क्लबबाट ‘भुटान प्रिमियर लिग’ खेल्ने छन् । लिगका लागि अर्पण बुधबार भुटान जाने छन् ।
अर्पण यस सिजनका लागि क्लबमा अनुबन्धित भएका हुन् । भुटानी लिग यहिँ जुन २२ बाट सुरु हुँदैछ ।
‘भुटानी लिग ६ महिनाको हुनेगर्छ । त्यसको लागि म भोली त्यसतर्फ जाँदैछु ।’ अर्पणले खेलपाटीसँग भने ।
अर्पणको टिम पारोले लिगको पहिलो खेल जुन २३ मा खेल्नेछ । पहिलो खेलमा पारोले ट्रान्सपोर्ट युनाईटेड फुटबल क्लबको सामना गर्दैछ ।
गोलकिपर अर्पणले पारोबाट यसअघि पनि खेलेका थिए । यस संस्करणको जिग्मे दोर्जे वाङ्चुक गोल्डकपमा अर्पणले पारोबाट खेलेका थिए । पारो च्याम्पियन समेत बनेको थियो । उक्त प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबले पनि सहभागिता जनाएको थियो ।
अर्पणले जिग्मे दोर्जे गोल्डकपमा राम्रो प्रदर्शन गरेको कारण क्लबले लिगका लागि अनुबन्ध गरेको बताए ।
‘त्यो गोल्डकपमा राम्रो भएको थियो । त्यहिँ समयबाट क्लबसंग लिगका लागि कुरा भईरहेको थियो । त्यसैले मैले पारोबाट लिग खेल्ने निर्णय गरे ।’ अर्पणले बताए ।
यस्तै अर्पणले राष्ट्रिय टिमको खेलमा आफु स्वदेश फर्कन पाउने बताए ।
भुटानी लिगको पहिलो चरण तीन महिनाको हुनेछ । एक महिनाको विश्रामपछि फेरि दोस्रो चरण सुरु हुनेछ ।