एजेन्सी । साबिकको विजेता चिलीले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार बिहान भएको खेलमा जापानलाई ४-० गोल अन्तरले पराजित गर्दै चिलीले शानदार सुरुवात गरेको हो ।
चिलीलाई जित दिलाउन एड्वार्डो भर्गासले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेज र एरिक पल्गरले एक एक गोल गरे ।
खेलको ४१ औं मिनेटमा पल्गरले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा भर्गासले गोल गर्दै चिलीको अग्रता दोब्बर बनाए ।

खेलको ८२ औं मिनेटमा सान्चेजले गोल गर्दा चिलीको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ८३ औं मिनेटमा भर्गासले व्यक्तिगत दोस्रो गोल गर्दै चिलीलाई ४-० को जित दिलाए ।
जितसंगै समूह 'सी' को चिलीले पहिलो खेलबाटै ३ अंक जोडेको छ । आमन्त्रित टिमको रुपमा कोपा खेलिरहेको जापानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
