काठमाडौं । चन्द्रपुर नगरपालिका राजधानीमा जारी उप-पमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार भएको खेलमा काठमाडौं महानगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै चन्द्रपुर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको हो ।
हलचोकस्थित एपीएफको मैदानमा चन्द्रपुरका लागि यू–१९ टिमकी महत्वपुर्ण सदस्य रश्मी कुमारी घिसिङ, रजनी थोकर र सलोनी राना मगरले एक एक गोल गरे ।

जितसंगै सतप्रतिशत जित निकालेको चन्द्रपुरले ३ खेलबाट ९ अंक जोडेको छ । दुई खेलबाट ६ अंक जोडेको बाह्रबिसे दोस्रो स्थानमा छ । यस समूहमा काठमाडौंको ३ अंक रहदा भिमेश्वर र गोदावरीले अंक जोड्न सकेका छैनन् ।
यसै समूह अन्तर्गत सोमबार नै भएको खेलमा बाह्रबिसेले भिमेश्वरलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।