काठमाडौं । बाह्रविसे नगरपालिकाले राजधानीमा जारी उप-पमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा भिमेश्वर नगरपालिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै बाह्रबिसेले दोस्रो जित निकालेको हो ।
हलचोकस्थित एपीएफको मैदानमा बाह्रविसेलाई जित दिलाउन रजनी श्रेष्ठ र सम्झना लावतीले एक एक गोल गरिन् । बाह्रविसेले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।
भिमेश्वरका सन्तोषी बुढाथोकीले आत्मघाती गोल गरिन् । यस्तै विमला सुनुवारले एक गोल फर्काइन् ।
यो जितसंगै समूह 'सी'मा रहेको बाह्रबिसेले २ खेलबाट ६ अंक जोडेको छ । यसअघि पहिलो खेलमा बाह्रबिसेले गोदावरी नगरपालिकालाई २-१ ले हराएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
