काठमाडौं । बाँसगढी नगरपालिकाले उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा बाँसगढीले शम्भुनाथ नगरपालिकालाई १९-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
हलचोकस्थित एपीएफको मैदानमा बाँसगढीलाई जित दिलाउन राष्ट्रिय टोलीका सदस्य तथा डिफेन्डर पुजा राना मगर एक्लैले १० गोल गरिन् । यस्तै सुरक्षा सुखरिया र लक्ष्मी चन्दले ह्याट्रिक गरिन् ।
त्यस्तै गोलकिपर अन्जना राना मगरले २ गोल गरिन् । दोस्रो हाफमा मैदान छिरेकी अन्जनाले एक पेनाल्टी र एक फ्रिकिकमा गोल गरेकी हुन् ।
त्यसबाहेक नानुमाया क्षेत्रीको नाममा एक गोल रह्यो ।
जितसंगै समूह 'ए' को बाँसगढीले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा बाँसगढीले तुल्सीपुर उप महानगरपालिकासंग २-२ गोलको बराबरी खेलेको थियो ।
शम्भुनाथको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा शम्भुनाथ वालिङ नगरपालिकासंग ११-० ले पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा जारी प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।