काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी सदस्यद्वय अन्जना मगर र पुजा रानाले भुटानी लिग खेल्ने भएका छन् ।
अर्को महिना सुरु हुन लागेको भुटानी लिगमा राष्ट्रिय महिला फुटबल टिमकी दुई महत्वपुर्ण सदस्यले खेल्ने तय भएको हो ।
दुवै खेलाडीले भुटानकाे सनराइज फुटबल क्लबबाट महिला लिग खेल्नेछन् ।
महिला साफ यु–१९ खेल्न भुटान गएको समय नेपाली खेलाडीमा भुटानी क्लबले चासो देखाएका थिए ।
भुटानको महिला लिग जुलाई १८ बाट २० सम्म सञ्चालन हुदैछ ।

अन्जना नेपालको महिला फुटबल टिमकी दोस्रो रोजाईको गोलकिपर हुन् । पुजा नेपाली महिला टिमकी नियमित डिफेन्डर हुन् ।
एन्फा स्रोतका अनुसार दुवै खेलाडीले भुटानी लिग खेल्ने पक्का भएको र केही दिनमा कागजी प्रक्रिया पुरा हुनेछ ।

खेलपाटीसंग कुरा गर्दै डिफेन्डर रानाले भुटानी टिमबाट खेल्नका लागि प्रस्ताव आएको बताईन् ।
विदेशमा गएर लिग खेल्न पाउनु राम्रो रहेको उल्लेख गर्दै उनले टिमलाई च्याम्पियन बनाउन कोशिश गर्ने बताईन् ।
'भर्खरै मात्र नेपाली खेलाडीले भारतमा गएर टिम च्याम्पियन बनाएर आएका छन् । हामीले नि देशको नाम त राख्न परो हैन ?' उनले प्रति प्रश्न गरिन् ।
पुजा र अन्जना दुवै विभागी टिम आर्मीबाट महिला फुटबल खेल्दै आईरहेका छन् ।
यसअघि नेपालकी सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय महिला लिगमा सेथु फुटबल क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए ।
सावित्राकै प्रभावशाली प्रर्दशनमा सेथुले महिला लिगको उपाधि उचालेको थियो ।