एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिका फुटबलमा कोलम्बियासँगको हारले आगामी खेलका लागि टिमलाई पाठ सिकाएको बताएका छन् ।
ब्राजिलमा जारी प्रतियोगिताको पहिलो खेलमा कोलम्बियासँग पराजित भएपछि कप्तान मेस्सीले टिमले यस खेलबाट धेरै कुरा सिकेको बताए । आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासंग २-० गोल अन्तरले पराजित भएको थियो ।
'हामीले हाम्रो सबैभन्दा उत्कृष्ट खेल खेलेका हौं । तर, उनीहरुले उत्कृष्ट गोल गरे जुन हामीलाई महँगो पर्यो,' कप्तान मेस्सीले भने, 'हामीले यसलाई आगामी खेलका लागि पाठको रुपमा लिनुपर्छ । तर, यो कुरा हामीमा निर्भर रहन्छ ।'
पहिलो हाफ गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खाएको थियो । कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुभान जापटाले एक एक गोल गरेका थिए ।
यस्तै मेस्सीले आगामी खेलका चुनौतिलाई सामना गर्न टिम तयार रहेको र अहिले नै टिमसँग गुनासो गर्नु पर्ने अवस्था नरहेको बताए ।
'त्यहाँ धेरै सकारात्मक कुराहरु छन् । र, हामी चुनौतिहरु स्विकार गर्न तयार छौँ । यो गुनासो गर्नु पर्ने समय हैन । हामी अग्धि बढ्न चाहन्छौ । हामी शिर उचो बनाउन लगातार प्रयास गर्नेछौं । त्यहाँ अझै धेरै खेलहरु बाँकि छ,' कप्तान मेस्सीले भने ।
त्यस्तै मेस्सीले टिमले बल पोजिसनमा पकड जमाएको बताए । तर, टिमले गोलका लागि राम्रो अवसर सिर्जना गर्न नसकेको मेस्सीले बताए ।