काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
शनिबार भयको खेलमा शम्भुनाथ नगरपालिकालाई ११-० को गोल अन्तरले पराजित गर्दै वालिङले शानदार सुरुवात गरेको हो ।
हलचोकस्थित एपीएफको मैदानमा वालिङलाई जित दिलाउन शान्ता नेपालीले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै सरस्वती हमालले ह्याट्रिकसहित ४ गोल गरिन् । त्यस्तै अमिता रनपाल र लिएम मास्केको नाममा एक एक गोल रह्यो ।
जितसंगै समूह 'ए' को वालिङले पहिलो खेलबाट ३ अंक जोडेको छ । शम्भुनाथले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा सुरु प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।