एजेन्सी । महान विलियम सेक्सपियरका जति पनि नाटक छन्, सबै वियोगान्त छन् । आम मानिसको जीवननै एक प्रकारले वियोगान्त हुने गर्छ । मानिसले आफ्नो भित्री मनले जे चाहन्छ, त्यो सबै कहाँ पूरा हुन्छ र ?
लियोनल मेस्सीको सबैभन्दा ठूलो भित्री इच्छा अर्जेन्टिनाका लागि कुनै ठूलो उपाधि जित्नु हो । उनी त्यसको नजिक नपुगेका पनि होइनन, तर जति नजिक पुग्छन्, त्यो सफलता अझ टाढा हुने गर्छ । डर छ, कतै अर्जेन्टिनाका लागि मेस्सीको फुटबल यात्रा कतै सेक्सपियरका नाटक जस्तै वियोगान्त हुने त होइन ?
आजदेखि दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका सुरु भइसकेको छ । विश्वकपपछि महत्वको दुई ठूला प्रतियोगितामा एउटा युरो हो भने अर्को यही कोपा अमेरिका ।
त्यसैले अबको केही दिन सबै फुटबल प्रेमी यही प्रतियोगिताले पस्कने अब्बल दर्जाको फुटबलमा लोभिने छन् र यसको केन्द्रविन्दु हुनेछ, तिनै मेस्सी । एक दशक भन्दा बढी समय भइसकेको छ, मेस्सीको अर्जेन्टिनाका लागि केही जित्न नसकेको यात्रा ।

मेस्सी पाँच पल्टका बालेन डी'ओर विजेता हुन् । उनको संग्रहमा धेरे उपाधि पनि छन् । यो अर्थमा उनी भाग्यमानी पनि छन् । फेरि के अर्थमा अभाग्यशाली पनि छन् भने त्यसमा अर्जेन्टिनाका लागि जितेको कुनै ठूलो उपाधि छैन् । बार्सिलोनाका लागि खेल्ने मेस्सीले क्याटलान क्लबका लागि के मात्र जितेनन् ? सूची बनाउने हो भने यसमा चार च्याम्पियन्स लिग उपाधि छ, १० स्पेनी ला लिगा उपाधि छ । र, अरू धेरै कप उपाधि पनि छ ।
मेस्सीलाई पनि थाहा छ, उनी ३१ वर्षका भइसके । अब चाँडै नै केही जितिएन भने हुन् सक्छ,आफ्नो खेल जीवनको अन्त्यमा उनीसँग अर्जेन्टिनाका लागि ‘मैले यसो गरें नि’ भने गर्व गर्न लायक केही हुने छैन् ।
केही दिन अगाडि मात्र उनले मिडियासँगको कुराकानीमा मार्मिक ढंगले भनेका थिए, ‘म चाहन्छुं, मेरो खेल जीवनको अन्त्य अर्जेन्टिनाका लागि केही जितेर नै होस । कम्तीमा मैले अहिलेसम्म गरिरहेको काम त्यसकै प्रयास न हो ।’
अर्जेन्टिनाका लागि मेस्सीले चार फाइनल खेलिसके । त्यसमध्ये अन्तिम दुई फाइनल कोपा अमेरिकाकै रहेको छ र त्यसमा दुवै अवसरमा अर्जेन्टिना चिलीको हातबाट टाइब्रेकरमा पराजित रहेको थियो । यी दुवै कोपा अमेरिकाका पछिल्ला दुई संस्करण नै हुन् । सन् २०१४ को विश्वकप फाइनल त झन मेस्सीले के बिर्सेका होलान ? मेस्सीलाई सबैभन्दा बढी दुःख दिएको फाइनल हार यही हो, जति त्यसलाई मेस्सी सम्झिन्दो हो, उनलाई झन पीडा पनि हुँदो हो ।
त्यस फाइनलमा अर्जेन्टिना जर्मनीको हातबाट पराजित रह्यो, त्यो पनि प्रसिद्ध माराकाना रंगशालामा । माराकाना रंगशाला भनेको ब्राजिली फुटबलको प्रतीक हो । यसपल्टको कोपा अमेरिकाको फाइनल पनि यही मैदानमा हुनेछ, जुलाई ७ मा । कम्तीमा त्यो दिन फाइनल खेल्ने एउटा टिम अर्जेन्टिना हुनेछ त ? अहिले यसलाई भविष्यको गर्वमै छाडेर पुरानो कोपा अमेरिका संस्करणको फाइनल सम्झौं न, त्यसमा अर्जेन्टिना हारेपछि के मात्र भएको थिएन् ?
मेस्सीले रातारात अर्जेन्टिनाका लागि अब फुटबल नखेल्ने भनेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए । उनी मात्र होइन, अर्जेन्टिनी टिमका अरू खेलाडीको पनि चर्को आलोचना भयो । मेस्सी भन्थे, ‘हामीलाई चारैतर्फबाट आक्रमण गरियो ।’
केहीले मेस्सीलाई के के न भएको जस्तो गरेर चर्को न चर्को गोली पनि गरे । तर मेस्सीको सन्यास छ साता पनि टिकेन् । उनी फेरि अर्जेन्टिनाका लागि खेल्न मैदानमा उत्रे । उनकै निर्णायक ह्याट्रिकको मदतले अर्जेन्टिनाले इक्वेडरलाई हरायो र टिम रुसमा भएको विश्वकपमा छनोट भयो ।
रुसी भूमिमा पनि मेस्सीले अर्जेन्टिनाका लागि खासै केही गर्न सकेनन् । उनको टिम फ्रान्सको हातबाट ४–३ ले पराजित रह्यो र टिम चाँडै घर फर्कन बाध्य रह्यो । त्यही फ्रान्सले अन्ततः विश्वकपको उपाधि चुम्यो । त्यसयता उनले अर्जेन्टिनाका लागि छ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेनन् । तर यति बेला उनको सन्यासको हल्ला भने चलेन् । धन्न, उनी यसपल्टको कोपा अमेरिकामा खेल्दैछन् र अर्जेन्टिनी समर्थक यसपल्ट त टिमले केही गर्ला भन्ने आशमा छन् ।
बार्सिलोनाकै लागि पछि पछिल्लो युरोपेली फुटबल सिजन सुखद रहेन । भलै बार्सिलोनाले ला लिगा जित्यो, तर उसले न स्पेनी कप जित्न सक्यो न त युरोपेली च्याम्पियन्स लिग नै । च्याम्पियन्स लिगको सेमिफाइनलमै पनि बार्सिलोनाले पहिलो लेगमा लिरभपुललाई ३–० ले हरायो, तर यही टिम दोस्रो लेगमा एनफिल्डमा ४–० ले पराजित रह्यो । मेस्सीले लिभरपुलविरुद्ध बेहोरेको त्यो हारलाई पनि सजिलै बिर्सन सक्ने छैनन् र उनलाई यसले दुःख दिइरहने छन् ।

फेरि यसपल्टको कोपा अमेरिकामै फर्कने हो भने अर्जेन्टिनाले समूह चरणका खेल खेल्न सकाउँदा जुन २४ मा मेस्सीले आफ्नो ३२ औं जन्मदिन मनाउने छन् । त्यति बेलासम्म अर्जेन्टिना नकआउट चरण पुगिसकेको हुनु पर्छ । कम्तीमा हामीले यति त अपेक्षा राख्न सक्छौं । साँच्चै अर्जेन्टिनाले केही जित्न नसकेको पनि २६ वर्ष भइसकेको छ ।
केही दिन अगाडि मात्र एउटा समाचार आएको थियो र त्यसले भनेको थियो, मेस्सी यो वर्ष सबैभन्दा बढी कमाउने खेलाडी हुन् ।
उनको आय थियो, एकै वर्षमा १२ करोड डलर भन्दा बढी । कति धेरै पो हो, यो एउटा प्रश्न, यति कमाएर पनि मेस्सी खुसी हुन सकेका छैनन् भने धेरै कमायो भन्ने कीर्तिमानको अर्थ नै के रह्यो र ? मेस्सीका लागि धेरै प्रशंसक होलान, अनि केही संख्यामा उनलाई मन नपराउने पनि होलान । तर यसपल्ट मेस्सी र अर्जेन्टिनाले कोपा अमेरिका जितोस भन्ने इच्छा त तिनै उनलाई मन नपराउनेको पनि होला । आखिरमा एक जना महान फुटबल खेलाडीको यत्ति हक त हुन्छ ।
सेक्सपियरको वियोगान्त नाटक जस्तै नहोस, अर्जेन्टिनाका लागि मेस्सीको फुटबल यात्रा ।
-एजेन्सीको सहयोगमा