एजेन्सी । आयोजक तथा उपाधि दाबेदार ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा बोलिभियालाई ३-० ले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।
साओ पाउलोमा ब्राजिललाई जित दिलाउन फिलिपे कौटिन्होले दुई गोल गरे । यस्तै एभर्टनले एक गोल थपे ।
स्टाडियो डो मोरुन्बी रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा बोलिभियालाई ३ गोल गरेको थियो ।

स्टार स्ट्राइकर नेयमारबिना मैदान उत्रिएको ब्राजिलले ५० औं मिनेटमा कौटिन्होको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । चोटका कारण नेयमार टिम बाहिर रहेका छन् ।
खेलको ५३ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए ।

जितसंगै समूह 'ए' को ब्राजिलले ३ अंक जोडेको छ । बोलिभियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
