काठमाडौं । स्पोर्ट्स एकेडेमी साँगा सहिद स्मारक 'सी' डिभिजन लिग छनोट खेलको दोस्रो चरणमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा भैरब स्पोर्टस् क्लबलाई ७–१ गोलको भारी गोल अन्तरले हराउँदै स्पोर्ट्सले दोस्रो चरणमा स्थान बनाएको हो ।
जितसंगै समूह 'एल' को स्पोर्ट्सले ७ अंक जोड्यो । यस समूहमा वेष्ट काठमाडौं फुटबल क्लबले ७ अंक जोडेपनि दोस्रो चरणमा स्थान बनाउन सकेन ।
वेष्ट काठमाडौंले शुक्रबार नै किङ कम स्पोर्टस् क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।
योसंगै छनोट प्रतियोगिताको दोस्रो चरण पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । प्रतियोगिताको दोस्रो चरणका खेलहरु आईतबारबाट सुरुहुनेछ ।
दोस्रो चरणमा समूह ’ए’ को सरस्वतीनगर स्पोर्टस क्लबले समूह ’बी’ को इमाडोल युवा क्लबसँग खेल्नेछ । समूह ’सी’ को झापा फुटबल क्लबले ’डी’ को एक्टिभ स्पोर्टस् काउन्सिलको सामना गर्नेछ । यस्तै समूह ’ई’ को च्याम्पियन ब्वाईज सेतीओपीले समूह ’एफ’को चर्च ब्वाइज युनाइटेड फुटबल क्लब तथा समूह ’जी’को सुन्धारा युवा क्लबले समूह ’एच’को चिवहाल युवा क्लबसँग खेल्नेछ ।
त्यस्तै समूह ’आई’को बागमती युवा क्लबले समूह ’जे’ को बिरगंज युनाईटेडसँग खेल्दा समूह ’के’ को तिमाल फुटबल क्लबले स्पोर्टस् एकेडेमी साँगाको सामना गर्नेछ ।