काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा भिमेश्वर नगरपालिकालाई १५-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले शानदार सुरुवात गरेको हो ।
हलचोकस्थित एपीएफको मैदानमा काठमाडौंलाई जित दिलाउन प्रिती राईले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् । नेपाली महिला यू-१६ टोलीका कप्तान समेत रहेकी प्रितीले पहिलो हाफमा ६ र दोस्रो हाफमा एक गोल गरेकी थिईन ।
यस्तै मनिषा थापा मगर र सुनकला राईले ह्याट्रिक गरिन् । सुस्मिता खड्का र सुभद्रा खड्काले एक एक गोल गरिन् ।
जितसंगै समूह 'सी' को काठमाडौंले पहिलो खेलबाट ३ अंक जोडेको छ । भिमेश्वरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यसअघि उद्घाटन खेलमा बाँसगढी र तुल्सीपुरले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । त्यस्तै दोस्रो खेलमा चन्द्रपुर नगरपालिकाले गोदावरी नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा सुरु प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।