एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले जापानका युवा खेलाडी ताकेफुसा कुबोलाई अनुबन्ध गरेको छ ।
रियलले शुक्रबार जापानिज मेस्सीको नाममा परिचित कुबोलाई अनुबन्ध गरेको जनाएको छ । रियलले प्रेस विज्ञप्ति निकाल्दै १८ बर्षीय कुबो अर्को सिजनबाट रियलमा हुने जानकारी गराएको हो ।
स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबोले जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट यस सिजन खेलेका थिए ।
यस सिजन उनले क्लबबाट १३ खेलमा ४ गोल गरेका थिए । यस्तै ३ लिग कपमा १ गोल गरेका थिए ।
जापानको राष्ट्रिय टोलीमा हालै डेब्यु गरेका कुबो कोपा अमेरिका खेल्ने जापानिज टोलीमा रहेका छन् । अट्याकिङ मिडफिल्डर कुबोले जुन ९ मा भएको एल साल्भाडोरविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।