काठमाडौं । चन्द्रपुर नगरपालिकाले उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको खेलमा गोदावरी नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले सुखद सुरुवात गरेको हो ।
काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा चन्द्रपुरलाई जित दिलाउन सबिता राना मगर, रजनी थोकर, रश्मी कुमारी घिसिङ र निशा थोकरले एक एक गोल गरिन् ।
जितसंगै समूह 'सी' को चन्द्रपुरले पहिलो खेलबाट ३ अंक जोडेको छ । गोदावरीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यसअघि उद्घाटन खेलमा बाँसगढी र तुल्सीपुरले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा सुरु प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।