काठमाडौं । उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाँसगढी नगरपालिका र तुल्सीपुर उप महानगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
शुक्रबार भएको उद्घाटन खेलमा बाँसगढी र तुल्सीपुरले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा बाँसगढीका लागि पुजा राना मगरले २ गोल गरिन् । तुल्सीपुरका दिपा पुन मगर र ममता पुन मगरले एक एक गोल गरिन् ।
बराबरीसंगै समूह 'ए' बाट बाँसगढी र तुल्सीपुरले एक एक अंक जोडेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा सुरु प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।