काठमाडौं । तिमाल फुटबल क्लब सहिद स्मारक 'सी' डिभिजन लिग छनोट खेलको दोस्रो चरणमा प्रवेश गरेको छ ।
बिहीबार ललितपुरको बुद्धि विकास खेल मैदानमा मनमैजु फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै तिमालले दोस्रो चरणको यात्रा तय गरेको हो ।
जितसंगै तिमाल समूह 'के' बाट दोस्रो चरणमा पुगेको हो । तिमालले ७ अंक जोड्यो । यस समूहमा ७ अंक जोडेपनि गोल अन्तरमा पछि पर्दै नव जन जागृति युवा क्लब बाहिरिएको छ । यसै मनमैजुको ३ तथा नुवाकोट अंक विहिन भयो ।
एन्फा मैदानमा बिहिबार नै भएको खेलमा नव जन जागृतिले नुवाकोट युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी छनोटमा ३८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । १२ समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह विजेता दोस्रो चरण प्रवेश गर्नेछन् । प्रतियोगिताबाट ३ टिम 'सी' डिभिजनमा छनोट हुनेछन् ।
समूह 'ए' बाट सरस्वतीनगर स्पोर्टस क्लब, समूह 'बी' बाट इमाडोल युवा क्लब र 'सी' समूहबाट झापा फुटबल क्लब, समूह 'डी' बाट एक्टिभ स्पोर्टस् काउन्सिल, समूह 'ई' बाट च्याम्पियन ब्वाईज सेतीओपी, समूह 'एफ' बाट चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र समूह 'जी' बाट सुन्धारा युवा क्लबले दोस्रो चरणमा स्थान बनाईसकेका छन् ।
यस्तै समूह 'एच' बाट चिवहाल युवा क्लब, समूह 'आई' बाट बागमती युवा क्लब , समूह 'जे' बाट बिरगंज युनाईटेड र समूह 'के' बाट तिमाल दोस्रो चरणमा प्रवेश गरेका छन् ।