काठमाडौं । एसओएस हेरमन ग्मिनर सेतिओपी च्याम्पियन कप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।
आयोजक सेतिओपी युवा क्लब र एसओएस बालग्राम सानोठिमीले प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता जेठ ३१ देखि असार ८ गतेसम्म संचालन हुने जनाएको छ ।
एसओएस बालग्राम सानोठिमीमा आयोजना हुने प्रतियोगितामा उपत्यकाका २६ विद्यालयहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । र, लिग चरणको खेलपछि हरेक समूहको एक एक टिम सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा एसओएस सानोठिमी र ऐम्स एकेडमीबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजार पाउने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्लस २ मा अध्ययनको लागी ग्रामर स्कुल/कलेजले छात्रवृत्ति प्रदान गर्नेछ । त्यस्तै न्यू भिजन एकेडेमी कोटेश्वरले वेष्ट गोलकिपर तथा रक्षक र सर्वाधिक गोलकर्तालाई मासिक शुल्कमा पूर्ण छात्रवृत्ती प्रदान गर्ने छन् ।
यस्तै प्रतियोगिता अन्तर्गत नै जेठ ३१ देखि असार ८ सम्म अन्तर विद्यालय तेस्रो २०–२० एसईई फुटबल प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ ।
एसईई दिएर बसेका विद्यार्थीले समेत खेल्न पाउने प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।