काठमाडौँ । ललित स्मृति अन्डर युथ–१८ फुटबल च्याम्पियनसिपको स्थगित खेल असार ६ गतेबाट सुरु हुने भएकाे छ ।
बुधबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेल खेलाएर स्थगित गरिएको थियो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको उद्घाटन खेलमा न्यूरोड टिम एनआरटीले भ्याली च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालिन कार्यबहाक अध्यक्ष ललित कृष्ण श्रेष्ठको स्मृतिमा चौथो संस्करणको प्रतियोगिता बुधबार सुरु गरिएको थियो ।
तर अहिलेपनि सातदोबोटोस्थित एन्फा कम्प्लेक्स र ललितपुरको बुद्धि विकास खेल मैदानमा सी डिभिजन छनोट चलिरहेको छ ।
मैदान अभावका कारण ललित स्मृति च्याम्पियनसिपको खेल स्थगित गरिएको एन्फाले जनाएको छ ।
प्रतियोगिताको स्थगित खेल सी डिभिजनको छनोट सकिएपछि असार ६ गते सुरु हुनेछ ।
पहिलो दिन सिएमजी संकटा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
नयाँ तालिका अनुसार प्रतियोगिताको समापन असार ३१ गतेनै हुने छ ।
यस पटक अघिल्ला सिजन खेलेका मोफसलका चार क्लब भने सहभागी छैनन् ।
अघिल्ला तीन संस्करणमा १४ ए डिभिजन क्लब सहित १८ टिमको सहभागीता रहेको थियो । एन्फाले एएफसीको नयाँ नियम अनुसार ए डिभिजनका १४ क्लबलाई मात्र उमेर समुहको प्रतियोगितामा सहभागीता गराएको जनाएको छ ।
प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन ब्रिगेड व्बाइज क्लब हो । अघिका दुई संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

