एजेन्सी । ब्राजिलमा आयोजना हुने कोपा अमेरिका फुटबलको टिकट बिक्रीमा निकै सुस्तता आएको छ ।
कोपा अमेरिकाका अधिकारीहरुले शनिबारबाट सुरु हुने प्रतियोगिताको टिकट बिक्री निकै ढिला गतिमा अघि बढेको बताएका छन् ।
आयोजकले आगामी जुन २२ मा हुने बोलिभिया र भेनेजुएला तथा जुन २४ मा हुने इक्वेडर र जापानबीचको खेलको टिकट बिक्री निकै कम भएको जनाएको छ ।
मिनिराओ स्टेडियममा हुने उक्त दुई खेलका लागि हालसम्म ३ हजार भन्दा कम टिकट बिक्री भएको छ । जुन रंगशालाको दर्शक क्षमता भने ६२ हजार रहेको छ ।
तर, शनिबार हुने उद्घाटन खेलको टिकट भने पूर्ण रुपमा बिक्री भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिल र बोलिभियाले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै आइतबार हुने अर्जेन्टिना र कोलम्बियाबीचको खेलको टिकट पनि पूर्ण रुपमा बिक्री भईसकेको बताईएको छ ।