काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापाले पहिलो पटक हुन लागेको उप मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता नखेल्ने भएकी छिन् ।
पहिलो संस्करणको प्रतियोगिता जेठ ३१ गतेबाट काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाल पुलिस क्लबकी स्ट्राइकर तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरुले प्रतियोगता नखेल्ने भएकी हुन् ।
खुट्टामा लागेको चोटका कारण पहिलो संस्करणको प्रतियोगिता गुमाउने कप्तान निरुले बताएकी छिन् ।
‘खुट्टाको घुँडामा लागेको चोटका कारण यसपटक खेल्न पाउँदिन । अहिले केहि समयको आराममा रहेको छु ।’ उनले खेलपाटीसंग भनिन् ।
निरुको कप्तानीमा नेपालले ओलम्पिक छनोटको पहिलो र दोस्रो चरणको खेल खेलेको थियो ।
यस्तै घरेलु भुमिमा भएको साफ च्याम्पियनसिपमा उनकै नेतृत्वमा नेपाल उपविजेता भएको थियो ।
‘अहिले ठिक हुने अवस्था छैन । अव हुने लिगका लागि तयारी गर्छु ।’ उनले भनिन् ।’
नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा १८ टिमले सहभागीता जनाउनेछन् ।
प्रत्येक टिम नगरपालिकाको नाममा रहने छन् । यस प्रतियोगितामा विभागीय टिमले भने खेल्न पाउने छैनन् ।
तर यसको विकल्पमा प्रत्येक १८ टिमले विभागका ५ खेलाडी राख्न पाउने प्रावधान रहेको छ । प्रतियोगितामा एकै दिन एउटै मैदानमा तीन खेल खेलाईनेछ ।
दिनको पहिलो खेल बिहान ९ बजे, दोस्रो दिउँसो १ बजे र तेस्रो खेल साँझ ४ बजे हुने एन्फाले जनाएको छ ।
शुक्रबार हुने उद्घाटन खेलमा बाँसगढी नगरपालिका र घोराही तल्सीपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
लिग कप नकआउटमा आधारमा हुने प्रतियोगितामा ४ समुह रहेका छन् ।
समूह ’ए’ मा बाँसगढी, घोराही तुल्सीपुर, शम्भुनाथ र वालिङ नगरपालिका रहेका छन् ।
समूह ’बी’ मा कावासोती, हेटौडा उप महागर, चौदण्डी गढी, पोखरा महानगर र विरेन्द्र नगरपालिका रहेका छन् ।
समूह ’सी’मा बाह्रविसे, चन्द्रपुर, भिमेश्वर र काठमाडौं महानगर र गोदावरी नगरपालिका छन् । त्यस्तै समूह ’डी’ मा विदुर, विराटनगर, धनगढी र पनौती नगरपालिका रहेका छन् ।