काठमाडौं । चौंथो संस्करणको ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिप एक साताका लागि स्थगित गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सुरु प्रतियोगिता करिब एक साताको लागि स्थगित गरेको हो । एन्फाले 'सी' डिभिजन लिग छनोट खेल नसकिएको कारण प्रतियोगिता एक साता सरेको जनाएको छ ।
एन्फाको लिग कमिटिका डिरेक्टर सन्जिब मिश्रले अब प्रतियोगिता असार ६ गतेबाट नियमित हुने जानकारी गराए ।
बुधबार भएको उद्घाटन खेलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरिसकेको छ । भ्याली च्यासल युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो ।
असार ३१ गतेसम्म चल्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।