काठमाडौं । चौंथो संस्करणको ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ ।
बुधबार भएको उद्घाटन खेलमा भ्याली च्यासल युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एनआरटीलाई जित दिलाउन रिजन माझी, क्रितिश रत्न छुन्जु,सुजन शर्मा धिताल र विवेक राईले एक एक गोल गरे । च्यासलका सिराब लो तामाङले एक गोल फर्काए ।
खेलको पहिलो मिनेट मै रिजनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा सिराबको गोलबाट च्यासल खेलमा फर्किएको थियो ।
दोस्रो हाफमा एनआरटीले लगातार ३ गोल गर्यो । खेलको ५४ औं मिनेटमा क्रितिशले गोल गर्दै एनआरटीको अग्रता २-१ को बनाए ।
खेलको ८१ औं मिनेटमा सुजनले गोल गर्दै एनआरटीको अग्रता ३-१ को बनाए । त्यसपछि खेलको ८७ औं मिनेटमा विवेकले गोल गर्दै एनआरटीलाई ४-१ को सहज जित दिलाए ।

जितसंगै समूह 'ए' को एनआरटीले महत्वपूर्ण ३ अंक जोडेको छ । च्यासलले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
असार ३१ गतेसम्म चल्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगितामा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, संकटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब , ब्रिगेड ब्वाईज र न्युरोड टिम एनआरटीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा संघले प्रत्येक बर्ष उमेर समूहको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
