काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास करिब तीन महिना फुटबल बाहिर रहने भएका छन् ।
नेपाली सेनाको लप्टन समेत रहेका भरत फ्लाईट दिस्पाचर र फ्लाईट अप्रेसन अफिसर तालिमका लागि थाईल्याण्ड जानुपर्ने भएकाले उनी करिब तीन महिना फुटबलबाट टाढिने भएका हुन् ।
उनी २९ गते थाईल्याण्ड जाने कार्यक्रम रहेको छ । उनले थाईल्याण्डको सिभिल एभिएसन ट्रेनिङ सेन्टरमा तीन महिनाको ट्रेनिङ लिनेछन् । यस क्रममा उनी पुर्ण रुपमा फुटबलको मैदान बाहिर रहनेछ ।
'ट्रेनिङको लागि जान लागेको हो । फुटबल पूर्ण रुपमा छाड्ने हैन । ट्रेनिङको समय पनि खेलिन्छ तर अबको तीन महिना क्लब र देशका लागि भने खेल्न पाउने छैन,' आर्मीका कप्तान समेत रहेका भरतले भने ।
यस तालिम सकेपछि सेनामा आफुले क्याप्टेन पद पाउने भरतले जानकारी दिए ।
राष्ट्रिय फुटबल टिमले खेलेको पछिल्लो मैत्रीपुर्ण खेलमा उनी टिम बाहिर थिए । चोटका कारण उनलाई मलेसिया र चाईनिज ताईपेविरुद्वको मैत्रीपुर्ण खेलमा समावेश गरिएको थिएन ।
राष्ट्रिय फुटबल टिममा उनी मेहनती फरवार्डको रुपमा चिनिन्छन् ।

एन्फा एकेडेमीका उत्पादन भरतले विभागीय टिम पुलिसबाट समेत घरेलु फुटबलका प्रतियोगिताहरु खेलेका थिए । तर अन्तिममा उनी आर्मीमा भर्ती भएका थिए । त्यसपछि उनी विभागीय टिम आर्मीबाट लगातार खेल्दै आएका छन् ।