विदुर । दोस्रो संस्करणको नुवाकोट गोल्डकपमा गत बर्षको लिग विजेता मनाङ पहिलो खेलमै पराजित भएको छ । सोमबार भएको खेलमा ए डिभिजन क्लब च्यासलले मनाङलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ६२ औ मिनेटमा मिलन राईले च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । अर्को गोल सवि गुरुङले गरेका थिए ।
च्यासलले अब फाईनल प्रवेशका लागि संकटा युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोली नेपाल पुलिस, शसस्त्र प्रहरी बल र नेपाल आर्मी क्लबले सहभागिता जनाएका छन ।
त्यस्तै ए डिभिजनका मनाङ, संकटा, च्यासल युथ क्लब, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुह सहित १० टोलीले सहभागीता जनाएका छन ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगीता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।