शालिकराम चालिसे
नुवाकोट । दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा संकटाले विजयी सुरुवात गरेको छ । बिहिबार भएको खेलमा संकटाले चितवन ११ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा ३४ औ मिनेटमा अफ्रिकन खेलाडी मेसाआइस पिरेलको गोलबाट संकटाले अग्रता लिएको थियो ।
६४ औ मिनेटमा कोनी बोन्सले संकटाको अग्रता दोब्बर पारेका थिए । ७० औ मिनेटमा चितवनका सुरज कुमालले एक गोल फर्काएका थिए ।
संकटाले अब सेमिफाईनल प्रवेशका लागि विभागीय टिम आर्मीसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत भोली आयोजक नुवाकोट र हेटौडाको विजय युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगीता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।