एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले च्याम्पियन्स लिगको खेल दौरान बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफुलाई अपशब्द बोलेको बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा मेस्सीले आफुलाई 'गधा' को संज्ञा दिदै गाली गरेको मिल्नरले दाबी गरेका छन् ।
क्याम्प नाउमा गत मे २ मा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले ३-० को जित निकालेको थियो । उक्त खेलमा मेस्सीले आफुलाई स्पेनिस भाषामा अपशब्द बोलेको मिल्नरले दाबी गरेका छन् ।
‘उ खुशी थिएन । उसले मलाई खेलको पहिलो हाफमा ‘बुर्राे’ शब्दको प्रयोग गर्यो । यसको अनुवाद ‘गधा’ हो,' मिल्नरले डेलीमेलसंग भने, 'तर. मलाई लाग्छ स्पेनिस फुटबलमा यो शब्दको प्रयोग हुनु सामान्य हो।’
यस्तै मिल्नरले आफुले उनलाई फाउल गरेको कारण रिसाएर उनले त्यस्तो शब्द बोलेको बताए ।
‘मैले उसलाई सोधे तिमी ठिक छौं तर उ थिएन । मैले उसको स्पेनिस शब्द बुझेको उसलाई थाहा थिएन । उसले मलाई भन्यो, तिमीले फाउल गर्यौं जसको कारणले मैले तिमीलाई भने ।’
च्याम्पियन्स लिगको दोस्रो लेगमा भने लिभरपुलले बार्सिलोनालाई ४-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।