एजेन्सी । चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सार्रीले अट्याकिङ मिडफिल्डर इडेन हजार्ड क्लबमै रहने आशा व्यक्त गरेका छन् ।
युरोपा लिग फुटबलको फाइनलअघि बोल्दै प्रशिक्षक सार्रीले हजार्ड चेल्सीमा रहनेमा आफुलाई विश्वास रहेको बताएका हुन् । चेल्सीले युरोपा लिगको फाइनलमा मे २९ मा आर्सनलसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रशिक्षक सार्रीले हजार्डले अन्य निर्णय लिएमा उनको निर्णयलाई सम्मान गरिने समेत बताए ।
‘मलाई थाहा छैन, मैले हरेक प्रेस कन्फ्रेन्समा उनको निर्णयलाई सम्मान गर्न चाहन्छु भनेको छु ।’ प्रशिक्षक सार्रीले भने, ‘मलाई आशा छ । उ हामीसँग बस्नेछन् । तर यदि उनले केही छुट्टै निर्णय लिएभने हामी तयार हुन आवश्यक छ ।’
बेल्जियमका कप्तान हजार्ड पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहेको छ । हजार्डको लागि रियलले मोटो रकम खर्चने समाचारहरु समेत आइरहेको छ । तर, हजार्ड र रियलले यस विषयमा मुख खोलेको छैन ।
यस्तै प्रशिक्षक सार्रीले हजार्ड टिमका लागि महत्वपूर्ण खेलाडी रहेको बताए ।
‘हजार्ड हरेक टिमका लागि राम्रो छ । तर, उ हाम्रो लागि धेरै नै राम्रो छ ।’ प्रशिक्षक सार्रीले भने ।