काठमाडौं । नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध आफ्ना खेलाडीले सोचेको जस्तो खेल्न नसकेको बताएका छन् ।
एएफसी कप फुटबल अन्तर्गत चौंथो खेलमा मिनर्वासंग बराबरी खेलेपछि प्रशिक्षक लोप्साङले खेलाडीको प्रदर्शन सोचेको जस्तो नभएको बताए ।
'हाम्रा खेलाडीले सोचेको जस्तो खेल्न सकेन । खेलाडीले जुन अन्तिम १० मिनेटमा खेल्यो त्यो खेल हाम्रो भएँन,' प्रशिक्षक लोप्साङले पोष्ट म्याच कन्फरेन्समा भने, 'धेरै खेलाडीले खेल्न सकेन । तयारी अनुसार खेल्न सकेन ।'
घरेलु मैदान एन्फा कम्प्लेक्समा मनाङले १० खेलाडीमा सिमित मिनर्वासंग १-१ गोलको बराबरी खेलेको थियो । पहिलो हाफमा १-० ले पछि परेको मनाङले दोस्रो हाफमा गोल फर्काएको थियो ।
यस्तै प्रशिक्षक लोप्साङले खेलाडीको यस्तो प्रदर्शनले मनाङको दोस्रो चरण कठिन रहेको बताए ।
'खेलाडीले रणनीति अनुसार खेल्न सकिरहेको छैन । अब हामीलाई अर्को चरणमा पुग्न गाह्रो छ,' प्रशिक्षक लोप्साङले थपे ।
यस्तै कप्तान विराज महर्जनले खेलाडीले मिस पास बढी खेलेको र अन्य खेलको तुलनामा प्रदर्शन खराब रहेको बताए ।
'हाम्रो मिस पास बढी भयो त्यसैले खेल्न सकेनौ । हामीले सोचेको जस्तो खेल भएन,' कप्तान महर्जनले भने ।