एजेन्सी । म्यानचेष्टर सिटी प्रिमियर लिगको नयाँ च्याम्पियन भएको छ । आईतबार लिगको अन्तिम खेलमा ब्राईटनलाई ४-१ गाेल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको लिग उपाधिमा कब्जा जमाएको हो ।
ब्राब्राईटनले घरेलु मैदानमा २७ औ मिनेटमा मुरेको गोलबाट अग्रता लिएको थियो । लगत्तै सर्जियो अग्युरोले खेल बराबरीमा ल्याए । लापोर्टीले ३८ औ मिनेटमा सिटीलाई २–१ को अग्रता दिलाए ।

६३ औ मिनेटमा रियाद महरेजले सिटीका लागि तेस्रो गोल गरे । ७२ औ मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई प्रभावशाली जित दिलाए ।
सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझायो । सिटीको बराबरी वा हारले उपाधि लिभरपुलले जित्ने सम्भावना थियो । तर अन्तिम खेलमा समेत गोल बर्षा गर्दै सिटीले उपाधि रक्षा गर्न सफल रह्यो ।

सिटीले ९८ अंक सहित लिग उपाधि जित्यो । उपविजेता लिभरपुल मात्र १ अंकले पछाडी रह्यो ।

