एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्क प्रिमियर लिगको 'प्लेयर अफ दि सिजन' चुनिएका छन् ।
नेदरल्याण्डका डिफेन्डर भान डिज्कले लिभरपुलकै मोहमद सलाह, साडियो माने , म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ, चेल्सीका इडेन हार्जाडलाई पछि पारे ।
भान डिज्कले समर्थकको मत र एक्पर्ट मतको आधारमा 'प्लेयर अफ दि सिजन' चुनिएका हुन् ।
यस सिजन इन्ग्लिश प्रिमियर लिगमा भान डिज्कले उत्कृष्ट प्रदर्शन गरेका थिए । लिभरपुललाई मुख्य उपाधि दाबेदार बनाउन भान डिज्कको प्रदर्शन उच्च रहेको थियो ।
२७ बर्षीय भान डिज्कले यस सिजन लिभरपुलबाट ३७ लिग खेल खेलेका छन् । भान डिज्क सन् २०१८ मा साउथह्याम्पटनबाट ७५ मिलियनमा लिभरपुल आएका थिए ।
भान डिज्क 'प्लेयर अफ दि सिजन' चुनिएसंगै लगातार दोस्रो वर्ष लिभरपुलका खेलाडीले यस अवार्ड जितेका छन् । गत सिजन लिभरपुलकै मोहम्मद सलाहले यस अवार्ड जितेका थिए ।
यसै सिजन भान डिज्कले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका थिए ।