ताप्लेजुङ । साविकको विजेता नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

नारायणी माविको खेल मैदानमा पुलिसले आर्मीलाई २५-१७,२५-१३ र २५-१९ को सेटमा हरायो । योसंगै पुलिसले दोस्रो पटक उपाधिमा कब्जा जमाएको छ ।
यस्तै पुलिसले यो वर्ष लगातार दोस्रो पटक फाइनलमा आर्मीलाई पराजित गरेको छ । हालै नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पुलिसले आर्मीलाई हराएर स्वर्ण जितेको थियो ।
उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ७६ हजार २५१ नगदमा चित्त बुझायो ।

प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०-५० हजार प्राप्त गर्यो ।

जितपछि बोल्दै पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले ब्लक र सर्भिस राम्रो हुँदा उपाधि जितेको बताए ।
'आर्मीमाथि हाम्रो यो सातौं जित हो । हाम्रो ब्लक पक्ष र सर्भिस राम्रो हुँदा उपाधि जित्यो,' प्रशिक्षक श्रेष्ठले भने ।
आर्मीका प्रशिक्षक लोक बुढाले रिसिभ राम्रो नहुँदा फाइनलमा कठिन भएको बताए ।
'पुलिसको ब्लक राम्रो भयो । हाम्रो रिसिभ बिग्रियो त्यसैले पराजित भयौं,' बुढाले भने ।
विजेता खेलाडीलाई प्रमुख अतिथि तथा प्रदेश सदस्य टंक आङबुहाङ, प्रदेश सदस्य बल बहादुर साम्सोहाङ र प्रदेश सदस्य होम कुमारी साँवा, बल बहादुर तामाङ, इश्वरी पौडेल, रमेश बराल र क्लबका पदाधिकारी लगायतले पुरस्कृत गरे ।

मैवाखोला गाउँपालिकाको व्यवस्थापन तथा जलजले युवा क्लब, न्यु पाथिभरा क्लब र मैवाखोला क्लबको आयोजनामा भएको प्रतियोगितामा सहभागिता रहेको थियो ।



