ताप्लेजुङ । त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
नारायणी माविको खेल मैदानमा ७ जना राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको आर्मीले एपीएफलाई २५-२१, २५-२०,२०-२५ र २६-२४ को सेटमा पराजित गर्यो ।

अब आर्मीले उपाधिका लागि बिहिबार साविकको विजेता नेपाल पुलिस क्लबसंग खेल्नेछ । यसै महिना सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पुलिसले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।
पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै पुलिस यसअघि नै फाइनल पुगिसकेको छ ।

मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ ।
यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन् ।
