ताप्लेजुङ । साविकको विजेता नेपाल पुलिस क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

नारायणी माविको खेल मैदानमा पाँच राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको पुलिसले गण्डकीलाई २५-१५, २६-२४ र २५-१७ को सेटमा पराजित गर्यो । पुलिसलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका विशाल विक म्यान अफ दि म्याच बने ।

अब पुलिसले बिहिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ । आर्मी र एपीएफबीचको सेमिफाइनल खेल बुधबार नै हुनेछ ।

मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन् ।







