काठमाडौं । विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगितामा नुवाकोटको विदुर नगरपालिका सेमिफाईनल प्रवेश गरेको छ ।
बुधबार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा नुवाकोटको विदुर नगरपालिकाले धादिङको धुनीवेशी नगरपालिकालाई ९–१ गोलले पराजित गरेको हो ।
नुवाकोटलाई फराकिलो जित दिलाउन विदुरका आशिष लामाले दोहोरो ह्याट्रिक गरे । विकास मगर, सन्तोष थापा र मोहन गुरुङले एक÷एक गोल गरे ।
धुनीवेशीका दिपेन्द्र रेग्मीले एक गोल फर्काएका थिए ।
विदुरले फाइनल प्रवेशका लागि आगामी शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
शुक्रवार तनहुँको व्यास नगरपालिका र काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकाबीच प्रतिष्पर्धा हुनेछ ।
नुवाकोटको विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयोजनमा भएको प्रतियोगितामा विभिन्न ८ नगरपालिकाले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।