काठमाडौं । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनाेट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा समेत नेपाल पराजित भएको छ ।
मंगलबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित घरेलु टोली म्यानमारसंग २–१ गोल अन्तरले पराजित भएको हो ।
म्यानमारसंग पराजित भएसंगै नेपाल प्रतियोगितामा अंक विहिन हुँदै घर फर्किएको छ । सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट यस अघिनै बाहिरिसकेको थियो ।
मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा पहिलो हाफमा १–० को अग्रता लिएपनि नेपालले त्यसलाई जोगाउन सकेन ।
खेलको ३९ औ मिनेटमा मनिषा राउतले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् ।
प्रिति राईलाई म्यानमारका खेलाडी या ओले लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा मनिषाले सहजै गोल गरिन । लगत्तै म्यानमारकी या ओले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।
तर, दोस्रो हाफमा म्यानमार खेलमा फर्किएको थियो । खेलको ४७ औं मिनेटमा सान थावले गोल गर्दै म्यानमारलाई खेलमा फर्काएकी थिईन् । त्यसपछि मे फु कोले गोल गर्दै म्यानमारलाई २-१ को जित दिलाईन् ।
नेपाल छनोट प्रतियोगिताको सुरुवाती दुई खेलमा समेत पराजित भएको थियो ।
पहिलो खेलमा अष्ट्रेलियासंग ११–१ गोल अन्तरले हारेको नेपालले दोस्रो खेल उज्वेकिस्तानसंग ४–० ले गुमाएको थियो ।
नेपाललाई पराजित गरेसंगै म्यानमारले थाइल्याण्डमा आयोजना हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपमा स्थान पक्का गरेको छ ।
म्यानमारसंगै अष्ट्रेलियाले पनि थाइल्याण्डको टिकट पक्क गरेको छ ।