काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले एएफसी कपको भिनेर्भा पञ्जाबविरुद्वको खेलमा मौसम चुनौती हुन सक्ने बताएका छन् ।
खेल अगाडी मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक गुरुङले गर्मीका कारण खेलाडीलाई मौसम चुनौती हुन सक्ने बताएका हुन् ।
‘मौसम ठुलो चुनौती हुने देखिएको छ । खेलाडी चिसो मौसमबाट आएको हुदाँ गर्मीमा समायोजन हुन समस्या हुनेछ ।’ उनले भने ।
प्रशिक्षक गुरुङले अघिल्ला दुई खेल हारेपनि खेलाडी दबाबमा रहेको स्विकार गर्न मानेनन् ।
‘दुई खेल हारेको भएपनि खेलाडी दबाबमा छैनन् । दुई खेलमा जित हात पारेको भए सायद खेलाडीमा दबाब हुने थिए ।’ उनले थपे ।
उनले टिममा केही परिवर्तन हुने बताउँदै आफु अघिल्लो खेल भन्दा बलियो भएको दाबी पेश गरे ।
नेपाली टिमका कप्तान विराज महर्जनले भारतीय फुटबलबारे आफु जानकार रहेको बताउदै अवे खेलमा मनाङले टिम गेम पस्किने बताए ।
मिनेर्भा पञ्जाबका प्रशिक्षक सचिव बडाले घरेलु मैदानमा तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रने बताए ।
‘अघिल्लो चरणमा प्रवेश गर्न जसरी पनि जित्नुपर्ने दबाब छ । मौसमको समेत साथ छ । हामी सत प्रतिशत कोशिश गर्नेछौ ।’ उनले थपे, ‘अघिल्ला खेलमा दुवै गोल उपहार दिएका कारण हार्न पुगेका थियौं । अब पुराना गल्तीलाई सच्चाउँदै अघि बढ्नेछौ ।’
मनाङले एएफसी कपको तेस्रो खेलमा भारतीय क्लब मिनेर्भा पञ्जाबसंग भोली (बुधबार) प्रतिस्पर्धा गर्दैछ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न मनाङलाई समेत जित्नुपर्ने दबाब छ ।
मनाङले यसअघि भएको खेलमा बंगलादेशको अवहानी लिमिटेडसंग पहिलो लेगको खेल १–० ले गुमाएको थियो । दोस्रो खेलमा चेन्नाईन एफसीसंग २–० को हार ब्यहोरेको थियो ।
समुह चरणमा दुई खेल सकिदाँ चेन्नाइन एफसी र अबहानी समान ४ अक सहित पहिलो र दोस्रो स्थानमा छन् । मिनेर्भा पञ्जाब २ अंक सहित तेस्रो स्थानमा छ । दुवै खेल हारेको मनाङ तालिकाको पुछारमा छ ।