काठमाडौं । चौंथो संस्करणको झापा गोल्डकप फुटबलको फाइनल खेल आज (सोमबार) हुँदैछ । फाइनलमा भिड्दै छन् - आयोजक झापा-११ र विभागीय टिम त्रिभुवन आर्मी क्लब ।
डोमालाल राजवंशी रंगशालामा झापा र आर्मीबीचको फाइनल खेल अपरान्ह २ बजे सुरु हुनेछ । र, मैदान उत्रदा दुवै टोलीको नगर उपाधि उचाल्नु हुनेछ ।
फाइनल अघिको प्रि म्याच कन्फरेन्समा झापाका कप्तान कर्ण लिम्बुले उपाधि घरमै राख्ने लक्ष्यसहित मैदान उत्रने बताए । यस्तै आर्मीका कप्तान भरत खवासले आफ्नो टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताए ।
आयोजक झापा लगातार चौंथो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । आर्मी भने तेस्रो पटक फाइनल खेल्न लागेको हो ।
गत संस्करणको उपाधि आर्मीले झापालाई हराएर जितेको थियो । झापा गत संस्करणको हारको बदला लिने योजनामा रहेको छ ।
पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले झापासंगको फाइनल भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्ने छन् ।