काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्व कप्तान जमुना गुरुङ र रेफ्री बिना श्रेष्ठलाई सम्मान गरेको छ ।
एन्फाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार पूर्व कप्तान जमुना र रेफ्री बिनालाई सम्मान गरेको हो ।
एन्फा कप्लेक्समा आयोजित एक कार्यक्रममा जमुना र बिनालाई कदर पत्रसहित प्रमुख अतिथि तथा प्रदेश नम्बर ३ को प्रमुख अनुराधा कोईराला, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतले सम्मानित गरे ।
नेपाली महिला फुटबलमा सफल खेलाडी मानिने जमुनाले सन् २०१० को साफ च्याम्पियनसिपपछि सन्यास लिएकी थिईन ।नेपाली महिला रेफ्रीको परिचय बनाएकी बिना सन् २०१० बाट फिफा एसिस्टेन्ट रेफ्री रहेकी छिन् ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ को प्रमुख अनुराधा कोईरालाले खेलाडीलाई डाईट र अनुशासन धेरै महत्व रहेको बताउँदै एक दिनमात्र नभएर ३ सय ६५ दिनै नारी दिवस मनाउनु पर्ने धारणा राखिन् ।
कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष शेर्पाले आमाबिनाको जीवन कल्पना गर्न नसकिने बताए । यस्तै अबका दिनहरुमा महिलालाई पनि वर्षको उत्कृष्ट खेलाडीबाट सम्मान गरिने प्रतिबद्धता ब्यक्त गरे ।