वानखेडेमा कमजोर कोलकाता

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको दोस्रो खेलमा आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्।
खेल मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा साँझ ७:४५ बजेबाट सुरु हुनेछ भने टस ७:१५ बजे हुनेछ। मुम्बई पाँच पटक (२०१३, २०१५, २०१७, २०१९, २०२०) च्याम्पियन बनिसकेको टोली हो।
गत सिजनमा टोली तेस्रो स्थानमा रहेको थियो। यता, कोलकाताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको भए पनि अघिल्लो सिजन खासै राम्रो रहेन। टोली आठौं स्थानमा सीमित भयो।
वानखेडेमा कोलकाताको कमजोर प्रदर्शन
मुम्बईको कोलकाताविरुद्धको कीर्तिमान निकै बलियो छ। दुवै टोलीबीच अहिलेसम्म ३५ खेल भएका छन्। त्यसमध्ये मुम्बईले २४ जित हासिल गरेको छ भने कोलकाताले ११ खेल जितेको छ। वानखेडे स्टेडियममा दुवै टोली १२ पटक आमनेसामने हुँदा मुम्बईले १० खेल जितेको छ। कोलकाताले भने मात्र २ खेल जित्न सकेको छ।
यस सिजन मुम्बई उपाधिको बलियो दाबेदार मानिएको छ। टोलीमा कप्तान सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, तिलक वर्मा, जसप्रीत बुमराह र रोहित शर्माजस्ता खेलाडी रहेका छन्। यसले ब्याटिङ र नेतृत्व दुवैलाई मजबुत बनाएको छ।
विदेशी खेलाडीहरूमा रायन रिकेल्टन, शेरफन रदरफोर्ड, कर्बिन बोश, मिचेल स्यान्टनर, विल ज्याक्स, अल्लाह गजनफर र ट्रेन्ट बोल्टले टोलीलाई सन्तुलित बनाएका छन्। बलिङतर्फ बुमराह र बोल्टको जोडी निकै खतरनाक मानिन्छ।
शार्दूल ठाकुर र दीपक चाहरजस्ता अनुभवी भारतीय बलरहरूले टोलीलाई थप मजबुती दिएका छन्। नमन धीर फेरि एकपटक फिनिसरको भूमिकामा देखिन सक्छन्।
कोलकातासँग बलियो ओपनिङ ‘लाइनअप’
कोलकाताको टोली चार जना बलर बाहिरिएपछि केही कमजोर देखिएको छ। जिम्बाब्वेका तीव्र गतिका बलर ब्लेसिङ मुजरबानीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। बलिङको मुख्य जिम्मेवारी वरुण चक्रवर्तीमाथि रहनेछ।
ब्याटिङतर्फ भने टोली निकै बलियो देखिन्छ। १ देखि ८ नम्बरसम्म आक्रामक ब्याटर भएकाले उनीहरूले बलिङको कमजोरीलाई ब्याटिङबाट पूरा गर्ने प्रयास गर्नेछन्। टोलीमा फिन एलन र टिम सिफर्टजस्ता उत्कृष्ट ओपनर छन् भने क्यामरन ग्रीन र सुनिल नारायण जस्ता अलराउन्डरहरूले टोलीलाई थप मजबुती दिएका छन्।
हर्षित राणा र आकाश दीप चोटका कारण बाहिरिएका छन्। बंगलादेशका मुस्तफिजुर रहमान राजनीतिक कारणले आईपीएल खेल्न सकेका छैनन् भने श्रीलंकाका मथीश पथिराना पनि पूर्ण रूपमा फिट छैनन्। यता, जसप्रीत बुमराह भने मुम्बई टोलीसँग जोडिसकेका छन्।







-1774523438835.jpg&w=3840&q=75)







