श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

काठमाडौं। टी–२० विश्वकपको तयारीमा रहेको नेपालले वार्मअप खेलमा लगातार दोस्रो हार बेहोरेको छ।
बिहीबार सम्पन्न खेलमा घरेलु टोली श्रीलंका ‘ए’ सँग ७३ रनले पराजित भएको हो। श्रीलंका ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउ सक्यो।
नेपालले पहिलो खेलमा यही टोलीसँग ६ विकेटको हार बेहोरेको थियो। २२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुआतमै लगातार विकेट गुमायो।
कुशल भुर्तेल ७ रनमै आउट भए भने आसिफ शेख र आरिफ शेख पनि खाता नखोली पवेलियन फर्किए। तल्लोक्रममा आएका करण केसीले २६ बलमा ४१ रनको संघर्षपूर्ण इनिङ्स खेले।
लोकेश बम (२५) र रोहित पौडेल (१८) केही समय टिके पनि जित दिलाउन सकेनन्।
श्रीलंका ‘ए’ का नुवान तुषाराले ३ विकेट लिए। चरिथ करुणारत्ने र मादी हेमन्थाले समान २–२ विकेट हात पारे।
त्यसअघि कोलम्बो कोल्ट्स क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनायो।
टोलीका लाहिरु उदाराले आक्रामक ब्याटिङ गर्दै ५२ बलमा ९३ रन बनाए। लसिथ क्रुसपुलेले ३४ बलमा ५३ रनको योगदान दिए। सहन आराच्चिगे ५५ रनमा अविजित रहे।
नेपालका कुशल भुर्तेलले किफायती प्रदर्शन गर्दै ४ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट लिए। तर, अन्य बलरले रन रोक्न नसक्दा श्रीलंका ‘ए’ ले ठूलो स्कोर खडा गर्यो।












-1773053712375.png&w=3840&q=75)

