एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिएपछि बिग बास लिगमा मेलबर्न स्टार्स सेमिफाईनलमा छनोट भएको छ । लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै मेलबर्नले सेमिफाईनलमा स्थान बनाएको हो ।
मेलबर्नलाई सेमिफाईनलमा पुर्याउन नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरे । उनले महत्वपुर्ण तीन विकेट लिए ।
आठौँ ओभरमा टम कुरानलाई बोल्ड गरेका उनले १२ औ ओभरमा बेन द्वारहुसीलाई आउट गर्न सफल भएका थिए । अन्तिममा उनले लायड पोपीलाई ५ रनमा बोल्ड गरे ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १४ ओभरमा अलआउट हुन पुग्यो ।
तीन खेलाडी बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओपनर ड्यानियल हग्सले बनाएको १२ रन टोलीको सर्वाधिक ठुलो स्कोर रह्यो । मेलबर्नका लागि सन्दिपले सर्वाधिक ३ विकेट लिए ।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियाे । ग्लेन म्याक्सवेलले ८२ रन बनाउँदै टोलीको उद्वार गरेका थिए । पिटर ह्यान्डकम्बले समेत ३५ रन बनाएका थिए ।
मेलवर्न १४ अंक सहित तालिकाको चौथो स्थानमा उक्लियो । उसले १४ खेलमा ७ मा जित र ७ मा हार ब्यहोर्यो ।
पराजित सिड्नी १३ खेलमा ८ खेल जित्दै १६ अंक सहित सेमिफाईनलमा पुगिसकेको छ । यस्तै होबेर्ट हुरिकेन्स २० अंक र मेलबर्न रेनिगेड्स १६ अंक सहित सेमिफाईनलमा पुगिसकेका छन् ।