काठमाडौं। सन् २०२५ को समर ट्रान्सफर विन्डो प्रिमियर लिगको इतिहासमै एक ऐतिहासिक बन्ने क्रममा छ। ट्रान्सफरमार्क्टका अनुसार जुन महिनादेखि अहिलेसम्म क्लबहरूले १.६३ अर्ब युरो खर्च गरिसकेका छन्।
सबैभन्दा धेरै खर्च गर्ने क्लब बनेको छ, पछिल्लो सिजनको च्याम्पियन लिभरपुल। यो क्लबले हालसम्म २६९ मिलियन युरो खर्च गरिसकेको छ।
प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा लिभरपुलले जर्मन स्टार फ्लोरियन विर्त्जलाई सम्भावित ब्रिटिश कीर्तिमानी रकम ११६ मिलियन युरोमा अनुबन्ध गरेको छ।
त्यस्तै, फ्रान्कफर्टका फ्रेन्च फरवार्ड ह्युगो एकिटिके ६९ मिलियन (बढेर ७९ मिलियन युरो हुन सक्ने), बोर्नमाउथका मिलोस केर्केज ४०.८ मिलियनमा र बायर लेभरकुसेनका फुलब्याक जेरेमी फ्रिमपोंग ३५ मिलियन युरोमा आएका छन्।
अहिलेसम्म एक चौथाइ अर्बभन्दा बढी खर्च गरिसकेको भए पनि लिभरपुल अझै न्युक्यासल र स्विडेनका स्ट्राइकर अलेक्ज्यान्डर इसाकलाई किन्न इच्छुक देखिएको छ। जसको मूल्य १५० मिलियन युरो पुग्न सक्छ। त्यो सम्झौता भएमा लिभरपुल एकै ट्रान्सफर विन्डोमा सबैभन्दा धेरै खर्च गर्ने क्लब बन्ने सम्भावना छ।
वित्तीय विशेषज्ञ किरन म्याग्वायरका अनुसार यस्ता खर्च आकर्षक भए पनि लिभरपुलका लागि ‘व्यवस्थित’ छन्। उनका अनुसार क्लबको आम्दानीको स्रोत विस्तार भएका छन्।
विस्तारित एन्फिल्ड स्टेडियम, च्याम्पियन्स लिग फुटबल र नयाँ एडिडाससँगको किट सम्झौताले क्लबलाई आर्थिक हिसाबमा बलियो बनाएको छ।
लिभरपुलसँगै चेल्सी र आर्सनल पनि ठूला खर्चकर्ता बनेका छन्। चेल्सीले ब्राइटनबाट जोआओ पेड्रो ६० मिलियन र बोरुसिया डर्टमन्डबाट जेमी गिटेन्स ५६ मिलियनमा किनेर २१२ मिलियन युरो खर्च गरिसकेको छ।
आर्सनलले स्पोर्टिङका स्ट्राइकर भिक्टर ग्योकेरेसलाई ६३.५ मिलियनमा अनुबन्ध गर्न लागेका छन्। यो सिजन आर्सनलले कुल खर्च २०० मिलियन युरो पार गरेको छ।
स्पेनका मिडफिल्डर मार्टिन जुबिमेन्डी (६० मिलियन) र चेल्सीबाट नोनी मडुके (५० मिलियन युरो) पनि आर्सनलमा भित्र्याएका छन्।
सधैं ट्रान्सफरमा अग्रपंक्तिमा रहने म्यानचेस्टर सिटी भने तुलनात्मक रूपमा शान्त देखिएको छ। सिटीले रायन चेर्की, तिज्जानी रेजेन्डर्स र लेफ्ट–ब्याक रायान आइत–नुरीमा १२७ मिलियन युरो खर्च गरेका छन्।
अचम्मको कुरा के छ भने गत सिजन १५औं स्थानमा सीमित भएको म्यानचेस्टर युनाइटेड शीर्ष पाँच खर्चकर्तामध्येमा पर्छ। यो क्लबले १३३.५ मिलियन युरो खर्च गरिसकेको छ। ब्रायन म्बेउमो (६७ मिलियन) र म्याथियस कुन्हा (६६.५ मिलियन युरो) युनाइटेडमा आएका छन्।
१७औं स्थानमा टुंगिएको टोटनह्यामले पनि नयाँ प्रशिक्षक थोमस फ्रान्कको नेतृत्वमा १२२.५ मिलियन युरो खर्च गरेको छ। वेस्ट ह्यामबाट मोहम्मद कुडुसलाई ५५ मिलियन र बायर्न म्युनिखबाट माथिस टेललाई ३० मिलियनम युरोमा स्थायी रूपमा ल्याइएको छ।
ट्रान्सफर खर्चमा पारम्परिक ‘बिग सिक्स’ क्लबहरूले १ अर्बभन्दा बढी खर्च गरिसकेको तथ्यले प्रिमियर लिगको वित्तीय खाडललाई अझ स्पष्ट बनाएको छ। तर, ठूला क्लबबाहेकका टोलीहरू पनि सक्रिय देखिएका छन्।
नवप्रवेशी क्लब सन्डरल्यान्ड, बर्नली र लिड्स शीर्ष १० खर्चकर्तामा पर्न सफल भएका छन्। सन्डरल्यान्डले मात्र १०० मिलियनभन्दा बढी खर्च गरेको छ भने जोब बेलिङघमको बिक्रीबाट ३७ मिलियन युरो आर्जन गरेको छ। बर्नलीले ७० मिलियन र लिड्सले ६० मिलियन युरो खर्च गरेका छन्।
त्यसको विपरीत फुलह्यामले अहिलेसम्म कुनै खेलाडी अनुबन्ध गरेको छैन। क्रिस्टल प्यालेसले जम्मा २ मिलियन युरो खर्च गर्दै अजाक्सका डिफेन्डर बोर्ना सोसालाई ल्याएको छ।
यस्तो ठूलो खर्चसँगै आगामी सिजन कत्तिको प्रतिस्पर्धात्मक हुने हो भन्ने प्रश्न उठ्न थालेको छ। केही महिना अघि मात्र बर्नमाउथ र नटिङ्घम फरेस्टजस्ता टोली शीर्ष ६ मा थिए। तर, अब ठूलो क्लबहरू पुनः अघि बढ्न थालेका छन्।
विन्डो बन्द हुन अझै एक महिना बाँकी छ। इसाकको सम्भावित कीर्तिमानी सम्झौताजस्ता ठूला डिलहरू अझै बाँकी छन्। त्यसैले प्रिमियर लिगको यो खर्च खर्च गर्ने लहड छिट्टै रोकिने देखिँदैन। यसले यो लिगलाई विश्व फुटबलको वित्तीय महाशक्ति साबित गरिरहेकै छ।