काठमाडौं। आर्सनलले शनिबार स्विडिस अन्तर्राष्ट्रिय स्ट्राइकर भिक्टर ग्योकेरेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको छ।
प्रिमियर लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्न आर्सनलले आक्रमण लाइन मजबुत बनाउने प्रयासस्वरूप ग्योकेरेसलाई अनुबन्ध गरेको हो।
२७ वर्षीय ग्योकेरेसले गत सिजन स्पोर्टिङलाई पोर्चुगिज लिगको उपाधि दिलाउन ३९ गोल गरेका थिए। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध उनले ह्याट्रिकसमेत गरेका थिए।
उनले करिब ६२.९ मिलियन युरोको मूल्यमा पाँच वर्षे सम्झौता गरेका छन्। प्रदर्शनसँग सम्बन्धित बोनसहरू जोडिएमा उनको ट्रान्सफर रकम ६४ मिलियनसम्म पुग्न सक्छ।
यससँगै आर्सनलको यो समरको कुल ट्रान्सफर खर्च करिब २०० मिलियन पुगेको छ। उनी प्रशिक्षक मिकेल आर्टेटाको छैठौं समर साइनिङ हुन्।
यसअघि आर्सनलले डिफेन्डर क्रिस्टियन मोस्केरा (१३ मिलियन), मिडफिल्डर मार्टिन जुबिमेन्डी (६० मिलियन), गोलकिपर केपा एरिजाबालागा (५ मिलियन), मिडफिल्डर क्रिस्टियन नर्गार्ड (१० मिलियन) र फरवार्ड नोनी मडुके (४८.५ मिलियन) भित्र्याइसकेको छ।
ग्योकेरेसले सिंगापुर र हङकङको प्रि–सिजन टुरका लागि टोलीमा सहभागी हुने अपेक्षा गरिएको छ। आर्सनलले आइतबार सिंगापुर नेशनल स्टेडियममा न्युक्यासलसँग खेल्नेछ भने जुलाई ३१ मा हङकङमा टोटनह्यामविरुद्ध टुरको अन्तिम खेल खेल्नेछ।