काठमाडौं। फर्किएकी थिइन्, रिसको रफ्तारमा। तीन खेलको प्रतिबन्ध भोगेकी मोसमत सागोरिकालाई यस्तो हुनु स्वाभाविक नै थियो।
उनले श्रीलंकाविरुद्धको ९–१ को एकतर्फी जितमा ह्याट्रिक र नेपालविरुद्ध एक गोल गर्दै आफू कुन स्तरको खेलाडी हो भनेर प्रमाण दिइसकेकी थिइन्। तर, एकैछिनको आबेगमा उनको त्यो बलियो परिचय धुमिल भयो। उनी समियमित भइदिएको भए कुरा बेग्लै हुन्थ्यो।
बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मैदानमा सोमबार साँझ उनी त्यही धुमिल परिचय पुन: स्पष्ट पार्न मैदान उत्रिएकी थिइन्।
उनले तीन खेलपश्चात् जुन प्रदर्शन दिइन्, त्यसले साफ यु–२० च्याम्पियनसिपको फाइनल खेललाई एकतर्फी बनायो। नेपालका लागि त उनी त्रासदी नै भइन्।
प्रतियोगिताको अन्तिम खेल भनिए पनि यो दुई उपाधि दाबेदारबीचको निर्णायक भिडन्त थियो। नेपालका लागि जिते उपाधि, हारे दोस्रो हुने समीकरण थियो। बंगलादेशका लागि भने उपाधि उठाउन बराबरी पनि पर्याप्त हुन्थ्यो। तर, घरेलु टोलीले बराबरीको विकल्प सोचेन।
त्यसै मैदानमा चार दिनअघि भएको झगडाले सागोरिका र नेपाली डिफेन्डर सिम्रन राईलाई तीन खेलको प्रतिबन्ध भोग्न बाध्य बनाएको थियो। सँगै मैदानबाट निकालिएका यी दुई खेलाडी सोमबार पुनः आमनेसामने भए। तर, यो पटक भिडन्त कपाल तान्ने होइन, गोल हान्नेको भयो।
खेलको आठौं मिनेटमै सागोरिकाले पहिलो प्रहार गरिन्। उनले गोलकिपर सुजता तामाङलाई बिट गर्दै खालि पोस्टमा हानेको बलले सहजै जाली चुम्यो। त्यो त सुरुआत मात्रै थियो।
दोस्रो हाफ सुरु भएपछि उनी झन खतरनाक देखिइन्। ५२औं मिनेटमा सिम्रन र सुजतालाई छलेर दोस्रो गोल गरिन्। नेपाली रक्षापंक्तिले उनको खेल बुझ्नेअघि नै ह्याट्रिक भइसकेको थियो।
५८औं मिनेटमा लङ पासलाई नियन्त्रण गर्दै उनले बंगलादेशको अग्रता ३–० मा पुर्याइन्। योसँगै नेपालको पहिलो उपाधि जित्ने सपना घुमिलियो। नेपालले च्याम्पियनसिपको सुरुआती ४ खेलमा आक्रमक प्रदर्शन गर्दै कुल ३० गोल गरेको थियो।
तर, अन्तिम खेलमा यो टोलीको आक्रमण सशक्त देखिएन। डिफेन्स त झनै बिथोलियो। बंगलादेशका लागि सागोरिका मात्र फरक थिइनन्। उनले तीन खेलपछि पुनरागमन गर्दै नेपालको उपाधिसमेत खोसिनन्, ४ गोल गर्दै ‘फिनिशिङ’को परिभाषासमेत बदलिइन्।
झगडा, प्रतिबन्ध, आलोचना र दबाबबीच फर्किएकी एक खेलाडीले जुन जस्तो उत्तर दिइन्, त्यसले नेपाली टोलीलाई प्रश्नहरूको भारी थमाइदियो। सायद सबैभन्दा गह्रौँ प्रश्न यही थियो– के हामी निर्णायक खेलका लागि मानसिक रूपमा तयार थियौं त?