३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन

काठमाडौं। ३ खेलको प्रतिबन्ध र ५ सय डलर जरिवानापछि नेपाली टोलीकी डिफेन्डर सिम्रन राई र बंगलादेशी फरवार्ड मोसमत सागोरिका टोलीमा फर्किएका छन्।
केही समयपछि हुने खेलका लागि दुवै खेलाडी सुरुआती ११ मा अटाएका हुन्। साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा भएको घटनाका कारण यी दुईलाई कारबाही गरिएको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यी दुई खेलाडीलाई ३ खेलका लागि निलम्बन साथै समान ५ सय अमेरिकी डलर जरिवाना गरेको थियो।
उक्त खेल निकै प्रतिस्पर्धात्मक रह्यो। अन्तिम समयमा गोल गर्दै बंगलादेशले ३–२ को जित हात पारेको थियो। तर, खेलको ५५औं मिनेटमा सिमरन र सागरिकाबीच विवाद भएको थियो।
मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए।
सामान्यतः रातो कार्ड पाएका खेलाडीलाई एक खेलको प्रतिबन्ध लाग्ने नियम छ। तर, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रतियोगितामा प्रतिबन्धलाई ३ खेलमा बढाएको हो।













